Skip to main content

‘द गुड डक्टर’ सिरिज हेरेपछि‍...

केहि समय देखि मैले अंग्रेजी भाषाको सिरिज  ‘द गुड डक्टर’ हेरिरहेको छु। सिरिजमा एउटा अटिजमले ग्रस्त डक्टरले कसरी आफ्ना विभिन्न अफ्ठ्याराहरुलाई पन्छ्याउदै उत्कृष्ट ढंगले विरामीहरुको उपचार गर्न सफल हुन्छ भन्ने देखाउछ।

मैले सामाजिक सन्जालमा एउटा सानो भिडिओ क्लिप हेरेर यो सिरिज हेर्ने निर्णय गरेको थिए। एअरपोर्टमा अकस्मात सिसाको होर्डिङ खसेर फुट्छ र एउटा बच्चालाई लागेर सिकिस्त घाइते हुन्छ।

उक्त बच्चाको उपचारको लागि प्यासेन्जर मध्यको कोही आएर उसको घाँटीमा कुनै कपडाको मद्दतले प्रेसर दिन्छ तर ‘सान मर्फी’ले यसले उसलाई मार्ने र यसो नगर्न भन्दै घाँटी भन्दा माथि प्रेसर दिन भन्छ। र बच्चाको पेटमा सिसाले गडेको हुँदा घाउ बनेको हुन्छ।

जसको उपचार छिट्टै गर्नुपर्नेहुन्छ तर एम्बुलेन्स आउन समय लाग्ने हुँदा अरु विकल्प खोज्नुपर्छ। मर्फि भन्ने पात्रले एउटा रक्सीको बोटलमा छुट्टै प्रकारको Resuscitative endovascular balloon occlusion of the aorta ‘रिबोआ’ बनाउछ र बच्चालाई बचाउछ। जुन दृश्य देखर मैले सिरिज हेर्ने निर्णय गरेको थिए।

रक्सीको बोटलमा बच्चाले फेर्ने सास फिल्टर भएर जान्छ जुन हेर्दा अत्याधिक फिक्सनल लाग्छ तर यस्तो मेडिकल पद्दती नै हुने भन्ने थाहा पाएपछि भने मलाई यो दृश्यले आकर्षित गरेको थियो।

फिल्मको मुख्य पात्र ‘सान मर्फी’को रुपमा फ्रेडी हाईमोरको भुमिका साच्चै जीवन्त लाग्छ। उनले अटिजम भएको पात्रको भुमिका निर्वाह गर्दा साना साना कुरामा ध्यान दिइएको कारण सिरिजभर उनको पात्रको एकरुपताले दर्शकको रुपमा मलाई तानेको छ।

मैले फ्रेडी हाईमोरलाई सबैभन्दा मन पराएको ‘चार्ली एण्ड चकलेट फेक्ट्री’को मुख्य बाल कलाकार चार्ली बकेटको भुमिकामा हो। यो फिल्ममा मुख्य भुमिका ‘विलि वन्का’को रुपमा ‘जोनी डीपֹ’ देखिएका थिए।

द गुड डक्टर’ डेभिड शोरले निर्देशन गरेको सिरिज कोरियन सिरिज ‘गुड डक्टर’बाट एडप्ट गरिएको हो। एबिसी टेलिभिजनले निर्माण गरेको सिरिज विशुद्ध फिक्सनल मेडिकल ड्रामा लाग्छ।

हाईमोरले जस्तै डाक्टर ग्लासम्यानको रुपमा रिचर्ड शिर्फले, डाक्टर अड्रे लिमको भुमिकामा क्रिस्टिना च्याङ्ग, ली डिलालोको भुमिकामा पेग्ज स्पारा, डाक्टर मोर्गनको भुमिकामा फियोना गुबेल्मन, डाक्टर मार्कर्स एन्ड्रियुजको भुमिकामा हिल हार्परको अभिनय उल्लेखनिए छ ।

‘द गुड डक्टर’ मेडिकल ड्रामा हो जसमा विभिन्न अपरेशनका दृश्यहरु सुन्दर तरिकाले राखिएका छन्। विरामीको मुटु फेरेकका दृश्य हुन वा शरिका विभिन्न भाग चिरेर गरिएका सर्जिकल अपरेशनलाई कलात्मक शैलीले देखाइएको छ। यो सिरिजलाई १४ वर्ष माथिकाले मात्र हेर्न मिल्न बनाइएको छ। फिल्मको कथा एउटा अटिजम भएको पात्रले कसरी आफ्नो जीवनमा उत्कृष्ट निर्णयहरु गर्छ र सामान्य डक्टरहरुले जसरी नै वा अझ परिष्कृत ढंगले विरामीको उपचार गर्छ भन्ने देखाउछ।

फिल्ममा मर्फीको परिवर्तनशिलतालाई महत्वपुर्ण तरिकाले देखाइएको छ।  जसरी सुरुमा डाक्टर बन्दा उसलाई झुठ बोल्नु हुन्न र सत्य कुरा थाहा पाउने विरामीको अधिकार हो भन्ने मानसिकता पछि विस्तारै विरामीसँग उसको रोगको बारेमा नभन्नु र विरामीलाई कुन उपचारको पद्दतीको बारेमा जानकारी दिने कुन पद्दतीको जानकारी नदिने भन्ने बारेमा उसको विचार परिवर्तन भएको पाईन्छ।

गुड डक्टर फिल्मबाट एडप्ट गरिएको भनिएको सिरिजका पहिलो तिन भाग उत्कृष्ट लाग्छन् तर पछिका दुई भाग कथालाई जबर्जस्ती थपे जस्तो लाग्न थाल्छन्। कथालाई बिना उद्धेश्य जबरजस्ती दर्शकलाई थोपर्नुको कारण होला पछिल्ला भागहरुमा कथाको खासै बलियो लाग्दैन र मुख्य पात्र मर्फो जीवनबाट अन्य पात्रहरुमा मोडिएको भान हुन्छ।

समग्रमा सिरिजले अमेरिकाको स्वास्थ्य तथा उपचारको अवस्थाको प्रतिनिधित्व गर्न नसकेको धेरै दर्शकले सिरिजको बारेमा विचार व्यक्त गरेकाछन्। तर नेपालमा बसेर अमेरिकाको परिकल्पना गर्ने धेरै दर्शकलाई यसको काल्पनिकतामा विश्वास नगर्ने कुनै ठाँउ नहुन् सक्छ।

काठमाडौंका त्रिवि शिक्षण अस्पताल, विर अस्पताल देखि गाँउको स्वस्थ्य केन्द्रमा समेत उपचार गरेको अनुभवको आधारमा फिल्ममा देखिने स्वास्थ्यकर्मीलाई कुनै पनि रुपमा सम्बन्धित गर्न गाह्रो हुन्छ।

सिरिजको उत्कृष्ट पक्ष भनेको एउटा सम्पन्न अस्पतालको विश्वास दिलाउन सिरिजको सेट डिजाइनर वा सिनेटीक डिजाइनरको कामको प्रसंशा गर्नुपर्छ।

 

Comments