Skip to main content

‘मैलेमात्र देश बनाउँछु’ भन्ने अहम् त्यागेँ : उज्वल थापा

 

नेपाली नेताहरू सकेसम्म पद छाड्दैनन्। अझ कतिपय नेताहरू वर्षौंदेखि पार्टीको नेतृत्वमा छन्।

तर विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले केही दिनअघि पार्टीको नेतृत्वमा नरहने घोषणा गरे।

आफैंले जन्माएको पार्टीबाट उनले एकाएक नेतृत्व नलिने घोषणा गरे। विवेकशील नेपाली दलले मिलन पाण्डेलाई नयाँ अध्यक्षमा निर्वाचित गरिसकेको छ।

'अझ जुझारु, उर्जाशील नेतृत्व आओस् भनेर नेतृत्व छाडेको हुँ', थापाले सेतोपाटीसँग भने, 'नेतृत्व वा पदीय भूमिका भनेको एउटा शक्ति हो र त्यो शक्ति छाड्नुपर्दा हलुंगो र गह्रुंगो दुवै हुन्छ, गह्रुंगो यसकारण हुन्छ कि आफूले लिएको शक्ति अर्काले दुरूपयोग गर्ला कि! भन्ने हुन्छ। कतिपयले डरले शक्ति लिइराख्छन्। तर शक्ति लिइराख्दा त्यसको मातले दुरूपयोगको सम्भावना पनि हुनसक्छ।’

थापा अब पार्टी नेतृत्व छाडेर मध्यमार्गी लोकतान्त्रिक राजनीतिक धारको अभियानमा सामेल हुने बताउँछन्।

'म आफैंमात्र देश बनाउन सक्छु भन्ने अहम् मैले त्याग्नुपर्छ भन्ने जरुरी ठानेँ', थापाले सेतोपाटीसँगको कुराकानीमा भने, ‘हामी डराउनु पर्दैन, अरुले पनि देश बनाउन नविन सोच राख्न पाउँछन्।’

थापा आफ्नो नेतृत्वमा विवेकशीलले सुसंस्कारको राजनीति अगाडि बढाएको दाबी गर्छन्। 

‘हामीले गरेको सुसंस्कारको राजनीतिले अरुलाई पनि सुसंस्कारतर्फ धकेल्न मद्धत गरोस् भनेर अभियान विवेकशिलले अगाडि बढायो', थापाले भने,‘हाम्रो काम चाहिँ पोजेटिभ भाइरसको जस्तो होस् भन्ने थियो। अहिले हेर्नुभयो भने राजनीतिमा धेरै युवाहरू र जुझारु नेतृत्व आएका छन्। यो राम्रो संकेत हो।'

उनी विवेकशीलले बन्दविरूद्धको अहिंसात्मक राजनीतिले सबै दललाई डोहोर्‍याएको दाबी गर्छन्। 

'अहिंसात्मक बाटो प्रयोग गर्ने माहोल बनेको छ', थापाले भने, 'यस्तै सुसंस्कारको माहोल बन्दै जाने हामीले देखेका छौं।’

भिडिओ


 

Comments