Skip to main content

छुट्टीमा काठमाडौं आएर ‘लाइट बेलुन’ बेच्दै राजस्थानी बालबालिका

सेतोपाटीमा  प्रकाशित मेरो दोस्रो लेख, प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६

काठमाडौंका विभिन्न स्थानमा केही समययता साँझतिर भारतीय बालबालिका झिमिक्क झिमिक्क गरी बलिरहेको बत्ती (लाइट बेलुन) बेचिरहेका भेटिन्छन्।

विशेषगरी उनीहरू बसपार्क, मान्छेहरूको भीडभाड भएका स्थानमा जान्छन् र ग्राहकलाई बत्ती किन्न आग्रह गर्छन्।

काठमाडौंको कोटेश्वर चोकमा देखिएका केही भारतीय बालबालिका त्यही ‘लाइट बेलुन’ बेच्न भारतको राजस्थानबाट आएका हुन्।

उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्। तर नेपालीमा सोधिने सामान्य प्रश्नका जवाफ दिन भने सक्छन्।

यस्ता झिलिमिले बल बेच्न आउने अधिकाशं विद्यार्थी छन्। विद्यालयको छुट्टीमा उनीहरू परिवार तथा नातेदारसँग पैसा कमाउन काठमाडौं आएका हुन्।

यसरी व्यापार गरेर उनीहरू दिनको एक हजारदेखि दुई हजारसम्म कमाउँछन्। एक महिनाअघि काठमाडौं आएकी १३ वर्षीया सकिना हरेक दिन साँझ कोटेश्वर चोक पुग्छिन् र रोकिएका गाडी नजिक पुगेर लाइट बल किन्न आग्रह गर्छिन्।

'दिनमा २० देखि २५ वटा लाइट बेलुन विक्री हुन्छ', सकिना भन्छिन्, 'पन्ध्र सयदेखि दुई हजार कमाइ हुन्छ।’

१६ वर्षका सतिश कुमार दाजु भाउजुसँग नेपाल आएका हुन्।

उनी पैसा कमाएर परिवारलाई मद्दत गर्छन्। राजस्थानबाटै आएकी सीमा बुबा आमाले व्यापारमा लगाएकाले पढ्न नपाएकोमा दु:खी छिन्।

यसरी लाइट बल बेच्ने केही बालबालिका एक महिनापछि राजस्थान फर्केर पुनः विद्यालय जाने सोचमा छन्।


Comments